७ मंसिर, काठमाडौं l मोरङको विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेन–जी युवाहरूले रातो मसी फ्याँकेका छन्। एयरपोर्ट लाइनको सडकमा युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरीतर्फ जाँदै गर्दा सडक किनारबाट दौडिँदै आएका युवाले बस्नेतको कारमा रातो मसी हानेका हुन्।
घटना भएको केहीबेरमै बस्नेत सवार गाडी रोकिएको थियो। प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी भ्यानमार्फत कार्यालयतर्फ लैजाँदै गर्दा पनि जेन–जी युवाहरूले बस्नेतविरुद्ध नारा लगाइरहेको दृश्य भिडियोमा देखिन्छ। पक्राउ परेका गौतमले महेश बस्नेत र एमालेविरुद्ध सांकेतिक विरोधस्वरूप रातो मसी फ्याँकेको अनलाइनखबरलाई बताएका छन्।
महेश बस्नेतले पनि गाडीमा मसी फ्याँकिएको पुष्टि गरेका छन्। ‘एयरपोर्टबाट निस्कँदा दुई जनाले बेलुनमा पानी र अबिर भरेर हानेका रहेछन्, पछि पुलिसले समायो, हामी हिँड्यौं,’ उनले प्रतिक्रिया दिए।
कार्यक्रममा जान अवरोध पुर्याउने प्रयास गरिएको भन्दै बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’को संज्ञा दिएका छन्।