२५ कात्तिक, जनकपुरधाम । हंसपुर-७ की चन्द्रकला देवी दासको खेतमा धारिलो हतियारले प्रहार गरी हत्या, प्रहरीले एक जना पक्राउ गरी लुटिएका गहना बरामद गर्यो
धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार साँझ विभत्स ढंगले हत्या गरिएको छ। घरदेखि करिब ५०० मिटर टाढा खेतमा अनुहार र टाउकोमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
घटनापछि धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। राति करिब ९ बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक महिलाले लगाएका सुनचाँदीका गरगहना समेत लुटिएको पाइएको छ। स्थानीयवासीले चन्द्रकला देवी मिटरव्याज पीडित भएको बताएका छन्, जसकै निहुँमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।
प्रहरीले लुटिएका गहना बरामद गरेको भए पनि लुटपाटमा संलग्न व्यक्तिको नाम सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।