२४ कात्तिक, चितवन | पुल्चोक इन्जिनियरिङ कलेजको रिपोर्टमा ५९ करोड ९० लाखको काम देखियो, सरकारबाट फाउण्डेसनलाई १५ करोड मात्र भुक्तानी हुने
चितवनको भरतपुरमा धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड रुपैयाँ बराबरको काम भएको सरकारी मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ कलेजले गरेको प्राविधिक मूल्यांकनअनुसार फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम सम्पन्न गरेको उल्लेख छ।
कलेजका सहायक डीन डा. सुरज लामिछानेको नेतृत्वमा तयार गरिएको सो प्रतिवेदन भरतपुर महानगरपालिकामा बुझाइएको हो। रिपोर्टमा फाउण्डेसन गैरनाफामूलक संस्था भएकाले अन्य ठेकेदार कम्पनीजस्तै १५ प्रतिशत ओभरहेड रकम समावेश नगरिएको जनाइएको छ। त्यसको सट्टा कार्यालय सञ्चालन खर्चका लागि ४ प्रतिशत मात्रै थपिएको छ।
प्रतिवेदनमा रंगशालाभित्र तयार गरिएको नमूना क्रिकेट मैदान, दुबो रोप्ने खर्च तथा मौज्दात निर्माण सामग्रीहरूको मूल्य भने समावेश गरिएको छैन। यी सामग्री २०७९ चैत ३० गते महानगरपालिकालाई बुझिसकेको फाउण्डेसनले जनाएको छ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) का अनुसार सरकारले प्रतिवेदनको अध्ययनपछि १५ करोड रुपैयाँ विनियोजन गरेको छ, जसबाट अंशतः उधारो र ऋण तिर्न सहजता हुने अपेक्षा गरिएको छ। फाउण्डेसनले निर्माणका क्रममा विभिन्न निकाय र व्यक्तिहरूबाट झण्डै १८ करोड ४३ लाख बराबरको उधारो लिएको छ, जसमा करिब १ करोड ८५ लाख ऋणसमेत समावेश छ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रतिवेदन अध्ययनपछि अर्थ मन्त्रालयसँग केही प्राविधिक स्पष्टता लिएर भुक्तानी प्रक्रिया अघि बढाउने बताए।
फाउण्डेसनले रंगशाला निर्माणका क्रममा चितवन रेडिमिक्सलाई ३ करोड ४७ लाख, हामा स्टिललाई २ करोड २ लाख, जगदम्बा इन्टरप्राइजेजलाई २ करोड ३५ लाख, र विशेष एण्ड को प्रा.लि.लाई २ करोड १५ लाख भुक्तानी गर्न बाँकी रहेको छ। केही आपूर्तिकर्ता संस्थाले रकम नपाएको भन्दै अदालतमा मुद्दा समेत दायर गरेका छन्।
रंगशाला निर्माणका लागि विभिन्न सरकारी निकायबाट ११ करोड ७४ लाख, मेची–महाकाली अभियानमार्फत १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत तथा संस्थागत सहयोग गरी कुल २० करोडभन्दा बढी सहयोग प्राप्त भएको फाउण्डेसनले जनाएको छ।
धुर्मस–सुन्तली फाउण्डेसनले आर्थिक अभावका कारण २०७८ साउन २२ गतेदेखि निर्माण कार्य रोकिएको थियो। कुल ३० हजार दर्शक क्षमताको यो रंगशालाको करिब ३९ प्रतिशत काम सम्पन्न भइसकेको र त्यसपछिको स्वामित्व भरतपुर महानगरपालिकाले लिएर ठेक्का प्रक्रियामार्फत बाँकी काम अघि बढाइरहेको छ।
(स्रोत: अनलाइनखबर)