नेपालको निर्यातमा ९० प्रतिशत वृद्धि, असोज महिनामै २५ अर्बभन्दा बढीको वस्तु निर्यात

१० कात्तिक, काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उल्लेख्य निर्यात वृद्धि गरेको छ । भन्सार विभागका अनुसार असोज महिनामै नेपालले २५ अर्ब ४६ करोड रुपियाँ मूल्य बराबरको वस्तु निर्यात गरेको छ । यो अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

तीन महिनाको अवधिमा नेपालले कुल ७२ अर्ब ७८ करोड रुपियाँको वस्तु निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्षको सोही अवधिमा निर्यात ३८ अर्ब ३७ करोड रुपियाँ मात्र रहेको थियो । एक वर्षकै अन्तरमा नेपालले निर्यातमा करिब ९० प्रतिशतको वृद्धि हासिल गरेको हो ।

निर्यात वृद्धिसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा पनि बढ्दै गएको छ । चालु वर्षको पहिलो त्रैमासमा निर्यातको योगदान कुल व्यापारको १३.४६ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ८.९४ प्रतिशत मात्र थियो ।

निर्यात वृद्धिमा सबैभन्दा ठूलो योगदान भटमास तेलको रहेको छ । नेपालले तीन महिनामा ३० अर्ब ६९ करोड रुपियाँ बराबरको भटमास तेल भारत निर्यात गरेको छ । त्यसपछि दुई अर्ब ५७ करोड रुपियाँको गलैंचा, दुई अर्ब १३ करोड रुपियाँको सूर्यमुखी तेल, एक अर्ब ७३ करोड रुपियाँका फेल्टका सामग्री र एक अर्ब ६७ करोड रुपियाँको अलैंची निर्यात भएको छ ।

यता, चाडबाडका कारण आयात पनि बढेको विभागको विवरणमा उल्लेख छ । दसैं–तिहारको किनमेलले असोज महिनामै १ खर्ब ६२ अर्ब ९२ करोड रुपियाँको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही महिनाको १ खर्ब २८ अर्ब २० करोड रुपियाँभन्दा धेरै हो ।

तीन महिनाको अवधिमा कुल आयात ३ खर्ब ५ अर्ब रुपियाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब २० प्रतिशतले बढी हो ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा कच्चा भटमास तेल अग्रस्थानमा छ l ३० अर्ब २४ करोड रुपियाँ बराबरको आयात भएको छ । त्यसपछि २० अर्ब ६९ करोड रुपियाँको डिजेल, १७ अर्ब ११ करोड रुपियाँको रासायनिक मल, १६ अर्ब ७६ करोड रुपियाँको पेट्रोल, १३ अर्ब ६२ करोड रुपियाँको एलपी ग्यास र १२ अर्ब ५१ करोड रुपियाँका स्मार्टफोन आयात भएका छन् ।

नेपालको व्यापार सन्तुलन अझै घाटामा भए पनि निर्यात वृद्धिले आगामी दिनमा सकारात्मक संकेत दिएको विशेषज्ञहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *