दक्षिण भारतको आन्ध्र प्रदेश राज्यमा भएको बस दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको छ र धेरै घाइते भएका छन्। प्रहरीका अनुसार, मोटरसाइकल बससँग ठोक्किएपछि आगलागी भई बस आगोले पूरै डढेको हो।
कुरनूल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिक राजमार्गमा गुडिरहेको बसमा शुक्रबार बिहान आगो लागेको थियो। करिब ४४ जना यात्रु सवार बसमा आगो लागेको केही मिनेटमै बस पूरै डढेको थियो। केही यात्रुले सिसा फुटाएर भाग्न सफल भए भने अरू आगोमा जलेर मृत्यु भए।
बस हैदराबाद (तेलङ्गाना) बाट बेंगलुरु (कर्नाटक) तर्फ जाँदै थियो। दुर्घटनाको कारण मोटरसाइकल पछाडिबाट ठोक्किएर बसको इन्धन ट्यांकीमा आगो लाग्नु रहेको बताइएको छ। चालकले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा लिन नसकेका थिए।
दुर्घटनाको समयमा अधिकांश यात्रु निद्रामा थिए। मोटरसाइकल चालकको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली खटाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। यो पछिल्लो दुई हप्तामा भारतमा भएको दोस्रो ठूलो बस दुर्घटना हो। यसअघि राजस्थानमा भएको बस आगलागीमा पनि करिब २० जनाको ज्यान गएको थियो।