हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ। हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया जारी छ, जसलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले अगाडि बढाएको हो। रुरु जलविद्युत् कम्पनीले निर्माण गर्ने यो आयोजना हुम्लाको खार्पूनाथ र सर्केगाड गाउँपालिकामा पर्नेछ।
करिब ७२ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना कर्णाली नदीमा आधारित प्रमुख जलविद्युत् योजना हो। हिमनदी प्रवाहमा आधारित भएकाले यसलाई विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ। आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ। निर्माणका क्रममा ५६ घरधुरी प्रभावित हुने अनुमान गरिएको छ।