३० असोज, काठमाडौं। वर्षौँदेखि अलपत्र परेका रुग्ण सिँचाइ आयोजनामाथि सरकारले अख्तियार चलाउन थालेको छ। बबई सिँचाइ आयोजनाले लामो समयदेखि काम नगरेका ठेकेदारविरुद्ध ठेक्का तोड्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

आयोजनाले करिब ६ वर्षअघि गुलरिया–५ स्थित अमन कन्स्ट्रक्सन कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतका लागि ठेक्का सम्झौता गरेको थियो। तर सम्झौतापछि पनि काम अघि नबढेपछि आयोजना अब ठेक्का रद्द गर्नेतर्फ अघि बढेको हो।

बबई आयोजनाका ६ ठेक्कामध्ये चारको भौतिक प्रगति शून्य, एउटा ३० र अर्को ५५ प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ। ठेक्का लिएर पनि काम नगर्ने प्रवृत्तिमाथि अंकुश लगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए। यही निर्देशनअनुसार बबई सिँचाइ आयोजनाले बिहीबार ठेक्का तोड्ने सूचना सार्वजनिक गरेको हो।

आयोजनाले पटक–पटक सूचना जारी गरे पनि कम्पनीले सम्झौता अनुसार काम सुरु नगरी बीचमै छोडेको र तोकिएको म्यादसम्म पनि कार्य सम्पन्न नगरेको बताइएको छ।

सम्झौता तोड्ने तयारीसँगै आयोजनाले कम्पनीका आधिकारिक प्रतिनिधिलाई १५ दिनभित्र ठोस कारणसहित स्पष्टीकरण दिन आह्वान गरेको छ। तोकिएको समयमा सन्तोषजनक जवाफ नआएमा सम्झौता तथा सार्वजनिक खरिद ऐन अनुसार कार्यसम्पादन जमानत र धरौटी रकम जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *