२८ असोज, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ हजार १ सय रुपैयाँले बढ्दै मूल्य इतिहासकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ तोकिएको छ।
सोमबार भने सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४० हजार ४०० रुपैयाँमा पुगेको थियो।
सुनको मूल्य लगातार बढ्दै गएपछि सामान्य उपभोक्ताको पहुँच दिनदिनै घट्दो क्रममा छ। बजार विश्लेषकहरूको भनाइमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र अमेरिकी डलरको विनिमय दर बढ्नुले नेपाली बजारमा सुनको मूल्य अझै बढाउने संकेत देखिएको छ।