२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको जेनजी युवासँगको छलफलमा सहभागी हुन नपाएका युवाहरुले शीतल निवास अगाडि नाराबाजी गरेका छन् ।
आज बिहान शीतल निवास अगाडि जम्मा भएका युवाहरुले आफूहरुलाई छलफलमा समावेश नगरिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सुदन गुरुङ नेतृत्वको टोली मात्र भित्र प्रवेश गर्न पाएको र आधिकारिक जेनजी प्रतिनिधिहरुलाई बाहिरै रोकिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
अहिले ठूलो संख्यामा युवा शीतल निवास बाहिर भेला भएका छन् र आफूहरुलाई पनि प्रवेश दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् । सुरुमा १७ जना सहभागी हुने भनिए पनि अहिले २० जनाभन्दा बढी जेनजी सदस्य बैठकमा रहेका बताइएको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी शासन व्यवस्थाका मागसहित जेनजी युवाहरुले गत भदौ २३ र २४ गते देशव्यापी आन्दोलन गरेका थिए, जसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि उनीहरुको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् ।
उनीमाथि आगामी फागुन २१ गते आम निर्वाचन गराउने जिम्मेवारी छ, भने हाल उनले जेनजी युवाहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्दैछिन् । यसै सन्दर्भमा राष्ट्रपति पौडेलको पहलमा आजको छलफल आयोजना गरिएको हो ।
तर, जेनजीको आधिकारिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा अझै स्पष्टता नआएको बताइएको छ ।