२३ असोज, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कार्यहरूको प्रभावकारिता बढाउन तीन निकायलाई विशेष निर्देशन दिएका छन्। बुधबार उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र, र पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीहरूसँग अलग-अलग बैठक गरी तीन बुँदामा निर्देशन दिएका हुन्।
पुनले पहिलो निर्देशन नास्टका लागि दिएका छन्। उनले ३७ करोड बजेटमध्ये २७ करोड प्रशासनिक र १० करोड अनुसन्धान र नवप्रवर्तनका लागि छुट्याइएको उल्लेख गर्दै नास्टलाई ‘उच्चकोटीको अनुसन्धान केन्द्र’ बनाउने योजनाबारे यही हप्ता भित्र ठोस सुझाव दिन निर्देशन दिएका छन्। उनले भने, “भवन र ल्याब उच्च स्तरका छन्, त्यसअनुसारको गुणस्तरीय अनुसन्धान हुनुपर्छ।”
दोस्रो निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका लागि हो। उनले शिक्षक दरबन्दी मिलान, न्यून विद्यार्थी सङ्ख्या भएका विद्यालयहरू मर्ज गर्ने व्यवस्था, योग्य प्रधानाध्यापकको नियुक्ति प्रक्रिया, र अनलाइन शिक्षाका लागि डिजिटल शैक्षिक सामग्री विकास गर्ने कार्यविधि बनाउन निर्देशन दिएका छन्।
तेस्रो निर्देशन पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित छ। पुनले सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रम परिमार्जनमा गम्भीर हुन, पाठ्यक्रम नियमित रूपमा अद्यावधिक गर्न, मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग पुर्याउन र पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, ऐतिहासिक तथा संवैधानिक शिक्षा समावेश गर्न जोड दिएका छन्।