२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा लागेको आगो निभाउने क्रममा महानगरको दमकलले काम गर्न नसकेको कारणबारे स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर शाहले “सिंहदरबारमा आगो निभाउने क्रममा महानगरको दमकल निष्क्रिय रह्यो” भन्ने प्रचारहरू गलत भएको बताएका छन् । उनले आफूहरू कुनै जिम्मेवारीबाट नभाग्ने स्पष्ट गर्दै आन्दोलनकारीहरूको भीडका कारण दमकल काम गर्न नसकेको बताए ।

उनका अनुसार, “सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास गरिएको थियो, तर आन्दोलनकारीको अवरोधका कारण जान सकेन । नेपाली सेनाको दमकल पनि भित्रै हुँदा निभाउने प्रयास गर्न सकेको थिएन,” उनले भने ।

मेयर बालेनका अनुसार, भीड शान्त भएपछि मात्र महानगरको दमकल सिंहदरबार प्रवेश गर्न सफल भएको थियो । “जब भिड अलिक शान्त भयो, त्यसपछि २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको थियो,” उनले उल्लेख गरेका छन् ।

शाहले महानगरको प्रमुख जिम्मेवारी नागरिकका सम्पत्ति र संरचनाको सुरक्षा गर्नु हो भन्ने मान्यतामा आफू अडिग रहेको पनि बताएका छन् । उनका अनुसार, आन्दोलन सुरु भएसँगै महानगरका दमकलहरू विभिन्न स्थानमा आगो निभाउन सक्रिय रहेका थिए — संसद् भवन अगाडि जलेको एम्बुलेन्समा, न्युरोड र रामहिटीका क्षेत्रमा, साथै सुन्धारा र शान्तिनगरमा बिजुलीको पोलमा लागेको आगो निभाउन दमकल परिचालन गरिएको थियो ।

उनले थपे, “२४ गते बिहानदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन, तर साँझ ८ बजेदेखि राति १ बजेसम्म निरन्तर रूपमा काम गरिएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *