२१ असोज, काठमाडौं – जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मध्यरातसम्म बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक आयोजना गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग करिब बिहान २ बजेसम्म छलफल गरेकी थिइन् ।
यसअघि जेनजी युवा अगुवाहरूले ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न सोमबार काठमाडौं प्रहरी परिसर पुगेका थिए, तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । जाहेरी नलिएपछि प्रहरी प्रमुख खापुङ, गृहमन्त्री अर्याल र अन्य वरिष्ठ अधिकारीबीच तत्काल बैठक बसेको थियो ।
छलफलमा प्रहरी अधिकारीहरूले पूर्वप्रधानमन्त्रीमाथि जाहेरी दर्ता गर्दा राजनीतिक र सुरक्षात्मक असर पर्न सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए । उनीहरूले “आज ओलीविरुद्ध जाहेरी आयो भने भोलि बालेनविरुद्ध पनि आउन सक्छ” भन्दै सम्भावित विवादबारे चेतावनी दिएका थिए ।
गृहमन्त्री अर्याल भने जाहेरी दर्ता गर्नुपर्ने पक्षमा रहेको स्रोत बताउँछ । अन्ततः प्रधानमन्त्रीसँग नै टुंगोमा पुग्ने सहमति भएपछि बालुवाटारमा संयुक्त छलफल आयोजना गरिएको थियो ।
छलफलमा प्रहरी महानिरीक्षक खापुङले प्रधानमन्त्रीबाट स्पष्ट र लिखित निर्देशन प्राप्त भएमा मात्रै उजुरी दर्ता र गिरफ्तारी प्रक्रिया अघि बढाउन सकिने बताएका थिए । उनका अनुसार, “केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित आदेश आएपछि मात्रै अघि बढ्न सकिन्छ” भन्ने सुझाव दिएका थिए ।
यसअघि सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न पूर्वविशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । उक्त समितिले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई काठमाडौं उपत्यकाबाहिर जान रोक लगाउने सिफारिस गरेको छ ।
सुरक्षा अधिकारीहरूले न्यायिक छानबिन जारी रहँदा पक्राउ प्रक्रिया सुरु गर्दा मुठभेड वा अस्थिरता बढ्न सक्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री कार्कीले बैठकमा भनिन्, “जो दोषी छन्, उनीहरू कानूनको दायराभित्र आउनैपर्छ ।” उनले सुरक्षा निकायका प्रमुखहरूलाई घटनाको गहिरो विश्लेषण गरी शान्तिपूर्ण तरिकाले स्थितिलाई नियन्त्रणमा राख्न निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, कार्की आज पनि यस विषयमा थप परामर्श र छलफलमा व्यस्त रहेकी छन् ।