१९ असोज, काठमाडौँ — शुक्रबारदेखि देशभर मनसुनजन्य विपद्का कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकका अनुसार कोशी प्रदेशमा ३६ र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।
देशभर ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् । इलाममा पहिरोका कारण सबैभन्दा बढी २७ जनाको मृत्यु र ५ जना बेपत्ता भएका छन् । उदयपुरमा २ जनाको मृत्यु र १ जना घाइते भएका छन् । खोटाङमा चट्याङबाट एकजनाको मृत्यु र ३ जना घाइते छन् भने भोजपुरमा २ जना घाइते भएका छन् ।
पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । मधेश प्रदेशमा रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ । अन्य घटनामा बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जनालाई नदीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ । मकवानपुरमा पनि चट्याङबाट एकजना घाइते भएका छन् ।