१६ असोज काठमाडौँ — विश्वप्रसिद्ध जीवविज्ञानी तथा संरक्षणवादी डेम जेन गुडअलको ९१ वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियामा निधन भएको छ।
चिम्पान्जी अनुसन्धानमा क्रान्तिकारी योगदान पुर्याउने गुडअललाई पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि अभिनेता लियोनार्डो डिकाप्रियोसम्मले श्रद्धाञ्जली अर्पण गरेका छन्। डिकाप्रियोले उनलाई “ग्रहकै लागि साँचिकी नायिका” भनेका छन् भने ओबामाले विज्ञान क्षेत्रमा महिलाका लागि नयाँ बाटो खोलिदिएको उल्लेख गरेका छन्।
संयुक्त राष्ट्रसङ्घले गुडअलको मृत्युमा दुःख व्यक्त गर्दै उनलाई वातावरण संरक्षणका लागि अहोरात्र काम गर्ने दिग्गज वैज्ञानिकको रूपमा स्मरण गरेको छ। ग्रीनपीसले समेत उनलाई “हाम्रो समयकी महान् संरक्षणवादी” भनेको छ।
१९३४ मा लन्डनमा जन्मिएकी गुडअलले १९६० मा टान्जानियाको जंगलमा पहिलो पटक चिम्पान्जीलाई उपकरण प्रयोग गरेको दृश्य अभिलेख गरेकी थिइन्, जसले परम्परागत वैज्ञानिक धारणालाई चुनौती दियो। उनको खोजले मानव विकास र पशु व्यवहार सम्बन्धी अध्ययनलाई नयाँ परिभाषा दिएको थियो।
जीवनको अन्तिम दिनसम्म सक्रिय रहेकी उनी १९७७ मा स्थापन भएको ‘जेन गुडअल इन्स्टिच्युट’मार्फत चिम्पान्जी संरक्षण र वातावरणीय पुनर्स्थापनामा जुटिरहेकी थिइन्।
सन् २००३ मा उनलाई ‘डेम’ उपाधि दिइएको थियो भने २०२५ मा अमेरिकी राष्ट्रपतिको ‘प्रेसिडेन्सियल मेडल अफ फ्रीडम’ले सम्मानित गरिएको थियो।
गुडअललाई प्रिन्स ह्यारी र मेघनले “प्रकृतिका अथक अभियन्ता” भनेका छन् भने क्यानाडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको करुणा भविष्यका संरक्षण अभियानमा जीवित रहने उल्लेख गरेका छन्।