अन्तरिम सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई भारतको नयाँ दिल्लीमा २०८२ कार्तिक १० देखि १३ गतेसम्म हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA)को आठौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ। आइतबार असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, मन्त्रिपरिषद्ले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सहज र प्रभावकारी उपचारका लागि गृह मन्त्रालयमार्फत परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई घाइतेको पुनः उपचारका लागि तोकिएका अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। त्यस्तै, उपचारका लागि अस्पताल जाने घाइतेहरूलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने, उपचारका लागि हटलाइन सेवा सुरु गर्ने र सम्पर्क व्यक्तिलाई तोकेर फोन नम्बर सार्वजनिक गर्ने निर्णय समेत भएको छ।
यसैगरी, घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरी तत्काल काम सुरु गर्ने निर्णय गरिएको छ। वर्गीकरणपछि प्रभावितहरूलाई उपयुक्त राहत दिने व्यवस्था हुने सरकारको भनाइ छ।
सडक पूर्वाधारतर्फ, मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गसँग समानान्तर नयाँ सडकको रेखांकन स्वीकृत गरिएको छ। उक्त सडक त्रिशूली किनार हुँदै मर्स्याङदी नदीको बायाँ किनार हुँदै मर्स्याङदी विद्युतगृहको पारिसम्म पुग्नेछ। नयाँ सडकको मापदण्ड ३० मिटर (केन्द्र रेखाबाट दायाँ–बायाँ १५–१५ मिटर) तोकिएको छ।
त्यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।