२९ आसाेज २०८२, काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा नयाँ मतदाता दर्तामा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ। विशेष मतदाता नामावली संकलन सुरु भएको २१ दिनभित्र देशभर ४६ हजार ४ सय ९५ जना नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार, दर्ता गराउनेमध्ये अधिकांश युवा वर्गका छन्। आयोगले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्ष्य गरी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
यसअघि निर्वाचन घोषणा भएपछि मतदाता नामावली अद्यावधिक रोक्ने कानुनी प्रावधान संशोधन गरेपछि नयाँ दर्ता खुला गरिएको हो। अब इच्छुक व्यक्तिहरूले अनलाइन फारम भरेर नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिने प्रक्रिया पूरा गर्न सक्छन्।
काठमाडौं उपत्यकामा मिनभवन, जावलाखेल र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयहरूमा पनि नाम दर्ता र बायोमेट्रिक सुविधा उपलब्ध रहेको आयोगले जनाएको छ।