२७ असोज, काठमाडौं । हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले पुष्टि गरेका छन्।
इजरायली रक्षा बल (आईडीएफ) का एक वरिष्ठ अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्। उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी तथा इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समार्फत दिइएको राजदूत पण्डितले अनलाइनखबरसँग बताए।
राजदूत पण्डितका अनुसार, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन इज नो मोर भन्दै औपचारिक जानकारी दिए।’
अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार आज केही जीवित र मृतक बन्दीहरू मुक्त गरिँदै छन्। तर आज सार्वजनिक गरिएको २० जनाको सूचीमा विपिनको नाम समावेश छैन।
कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल गएका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। उक्त हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।
विपिनलाई अन्तिमपटक सन् २०२३ नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा देखिएको पुष्टि भएको थियो। त्यसपछि उनको अवस्था अज्ञात रह्यो। गत बुधबार मात्र उनको एक पुरानो भिडियो सार्वजनिक गरिएको थियो।
विपिनको अवस्थाबारे थाहा पाउन उनका परिवारका सदस्य इजरायल समेत पुगेका थिए। हाल उनीहरू अमेरिकामा रहेका छन्। नेपाल सरकारको निरन्तर कूटनीतिक प्रयास हुँदाहुँदै पनि विपिनको उद्धारमा सफलता मिल्न सकेकी छैन।