११ कार्तिक, काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफैं मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन र मिथ्या सूचनाको शिकार भएको बताउँदै जनतालाई हल्ला र भ्रममा नपर्न आग्रह गर्नुभएको छ।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, “अहिले सरकार आफैं मिथ्या सूचनाको सिकार बनेको छ। यस्ता हल्ला र प्रचारविरुद्ध काम गर्ने स्थायी संरचना सरकारसँग नहुँदो रहेछ।” उनले आफ्नाविरुद्ध पनि विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै त्यस्ता कार्य रोक्न अनुरोध गर्नुभयो।
गृहमन्त्रीले कतिपय मूलधारका सञ्चारमाध्यमले समेत गलत सन्देश प्रवाह गरेको भन्दै रोष प्रकट गर्नुभयो। अर्यालका अनुसार, आफू आन्दोलनको म्यान्डेट र जेन–जी आन्दोलनका सहिद तथा घाइतेको आकांक्षाअनुरूप नै काम गरिरहेका छन्।
“कतिपयले मलाई हटाउनुपर्छ भनेर बोलिरहेका छन्, तर म राज्यका संयन्त्रमार्फत जनताको म्यान्डेटअनुसारै अघि बढिरहेको छु,” उनले भने।
भदौ २३ र २४ का दमन, तोडफोड र आगजनी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन भइसकेको उल्लेख गर्दै उनले त्यस आयोगको प्रतिवेदन पर्खन आग्रह गरे। “जो पीडित छन्, उनीहरूले उजुरी लिएर प्रहरीमा जान सक्नेछन्,” उनले स्पष्ट पारे।
‘के गृहमन्त्री दबाबमा छन् ?’ भन्ने प्रश्नमा उनले भने, “गृहमन्त्री भनेकै धेरै सरोकारवालाबीच सन्तुलन खोज्दै काम गर्ने जिम्मेवारी हो। विद्रोहीलाई पनि सन्तुष्ट पार्नुपर्छ र विस्थापितका कुरा पनि सुन्नुपर्छ।”
गत साता कांग्रेस महामन्त्री गगन थापाले दिएको ‘उट्पट्याङ’ अभिव्यक्तिबारे सोधिएको प्रश्नमा अर्यालले स्पष्ट गर्दै भने, “सरकारले ती कैदीबन्दी र हतियार फिर्ता गराउन अपरेसन चलाइरहेको छ। मेरो वक्तव्यको सन्दर्भलाई बेवास्ता गरेर अर्को विषयमा ध्यान केन्द्रित गर्नु जिम्मेवार पत्रकारिताको उदाहरण होइन।”
उनले केही दल वा नेताको पृष्ठभूमि हतियारको दुरुपयोगसँग जोडिएको हुन सक्ने आशंका पनि व्यक्त गरे।
“निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ, सबैले त्यसतर्फ गम्भीर हुनुपर्छ,” उनले भने। नेकपा एमाले पनि सारमा निर्वाचनप्रति नकारात्मक नभएको आफूले बुझेको उनले थप जानकारी दिए।
‘फायरसाइड’ कार्यक्रम सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजन र यसको डिजिटल प्लेटफर्ममा प्रशारण गरिएको थियो।