२७ असोज, काठमाडौं l विगतमा दुई पटक प्रतिनिधिसभा विघटन गरेर व्यापक आलोचना खेपेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले भने प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले वर्तमान परिस्थितिमा संसद् पुनर्स्थापना नै उपयुक्त विकल्प रहेको धारणा राखेका थिए। एमाले सचिवालय बैठकमा केही नेताहरूले नयाँ निर्वाचनमा जाने प्रस्ताव गरे पनि ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको मागमा जानुपर्ने अडान लिएका थिए।
आइतबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सर्वोच्च अदालतमा पुनर्स्थापनाको माग गर्ने जानकारी दिएका छन्।
‘प्रतिनिधिसभा विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। त्यसैले विघटन बदर गर्दै पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ ज्ञवालीले भने।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली सत्ताबाट बाहिरिएसँगै प्रतिनिधिसभा विघटन गरिएको थियो।
ओली स्वयं विगतमा दुईपटक—२०७७ पुस ५ र २०७८ जेठ ७—मा प्रतिनिधिसभा विघटन गरेर आलोचनामा परेका थिए। दुवै निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गरेको थियो।