१५ असोज, काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएको सरकारी संरचनाको क्षतिको पुनर्निर्माणका लागि विदेशस्थित नेपालीहरूलाई राष्ट्र पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरिएको छ।
कतार, इरान, कुवेत, इजरायल र साइप्रसस्थित नेपाली राजदूतावासहरूले सामाजिक सञ्जालमार्फत विदेशी नेपाली तथा गैर आवासीय नेपालीहरूलाई कोषमा सहयोग गर्न अनुरोध गरेका छन्। योगदानले भौतिक पूर्वाधारको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग पुग्ने बताइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि ‘नेपाल पुनर्निर्माण अभियान’ अन्तर्गत मातृभूमि प्रति दायित्वअनुसार सहयोग गर्न विदेशस्थित नेपाली समुदायलाई आग्रह गरेको छ।
सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण समिति मार्फत कोषको प्रयोग प्रभावकारी ढङ्गले हुने जनाइएको छ।