काठमाडौँ — राहदानी विभागले हाल राहदानी वितरण संख्या घटाएको छ । राहदानी सीमित मात्रामा उपलब्ध भएकाले सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन विभागले वितरणमा कटौती गरेको हो । विभागका अनुसार हिजोदेखि दैनिक एक हजार राहदानी मात्र वितरण गर्ने व्यवस्था गरिएको छ । हाल विभागसँग जम्मा १ लाख ७३ हजार प्रति राहदानी बाँकी रहेको छ ।

नयाँ राहदानी खरिदका लागि विभागले साउन महिनामा नयाँ आपूर्तिकर्तासँग सम्झौता गरेको थियो । सो सम्झौताअनुसार नयाँ राहदानी फागुन दोस्रो हप्तादेखि मात्र आपूर्ति हुने विभागले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले राहदानीको अभाव हुन नदिन विशेष चासो देखाउनुभएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएकी उहाँले हिजो मन्त्रालय र राहदानी विभागका अधिकारीसँग बैठक गरी आवश्यक जानकारी लिएकी थिइन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री कार्कीले परराष्ट्र सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायतलाई राहदानी वितरणमा कुनै अवरोध नआउने गरी वैकल्पिक योजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले राहदानी अभाव नहोस् भनेर आवश्यक तयारी र उपाय अवलम्बन गर्न सम्बद्ध निकायलाई निर्देशन दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *