६ फागुन २०८२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन्। उनले पार्टीको वर्तमान निर्वाचन पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको अनुभव गरेपछि राजीनामा दिएको उल्लेख गरेकी छन्।

राजीनामा पत्रमा उनले आफू २०७९ श्रावण १० गतेदेखि पार्टीमा आबद्ध भई आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरेकी छन्। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भएर पार्टीमा प्रवेश गरे पनि पछिल्ला गतिविधिले आफू निराश भएको उनको भनाइ छ।

उनले संगठनमा सक्रिय रूपमा खटिएका क्षमतावान कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत गतिविधि भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको तथा मुख्य रूपमा आर्थिक अनियमितताले पार्टीका निर्णय प्रभावित भएको आरोप लगाएकी छिन्। यस्ता गतिविधिको साक्षी भएर मौन रहन नसक्ने अवस्थामा पुगेकाले आत्मसम्मानको रक्षा गर्न राजीनामा दिएको उनले जनाएकी छन्।

राजीनामा पत्रमा उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गरेको उल्लेख गर्दै पार्टीले दिएको अवसर, सहकार्य र अभिभावकत्वप्रति आभार व्यक्त गरेकी छन्। उनी मधेस प्रदेशको बारा निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *