कञ्चनपुर — प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा मंगलबार बिहान हजारौं सर्वसाधारणको सहभागितामा सुरु भएको छ। राष्ट्रिय सम्मानका साथ भीमदत्त नगरपालिकाको भुजेलाघाटस्थित महाकाली नदीमा विपिनको अन्त्येष्टि गर्न तयारी भइरहेको छ।
उनको शव सोमबार काठमाडौंबाट नेपाली सेनाले धनगढी विमानस्थलसम्म पुर्याएको थियो। त्यहाँबाट राति नै विपिनको घर भीमदत्त–३ लगिएको थियो।
शवयात्रामा स्थानीय नागरिकदेखि राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मीहरूसमेत सहभागी छन्। कार्यक्रममा नेपालका लागि इजरायली राजदूतको समेत उपस्थिती छ। विपिनप्रति श्रद्धाञ्जलीस्वरूप सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जनाएका छन्।