काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले कतारको राजधानी दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको औपचारिक निमन्त्रणामा त्यहाँ गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कतारका लागि नेपाली राजदूत, उच्च पदस्थ सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए। यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।
संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना हुने उक्त सम्मेलनमा राष्ट्रपति पौडेलले कात्तिक १८ गतेको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनले सम्मेलनकै क्रममा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।
सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलोपटक आयोजित यस सम्मेलनको दोस्रो संस्करणमा विकास असमानता, जनसंख्या असन्तुलन र प्रविधिको सामाजिक प्रभावजस्ता समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघमा सन् १९५५ मा सदस्य बनेको नेपाल शान्ति, स्थायित्व र सामाजिक विकासका पक्षमा निरन्तर सक्रिय सदस्य राष्ट्र रहँदै आएको छ। हाल नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष राष्ट्रको रूपमा पनि कार्यरत छ।
कतार भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।