१८ असोज, काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशभर विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराउन सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तहलाई तत्काल खाद्यान्न व्यवस्थाको तयारी गर्न भनिएको हो।
‘सीडीओमार्फत स्थानीय प्रशासनले आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था मिलाइनेछ,’ उनले बताए।
अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने धेरै राजमार्गहरू अझै अवरुद्ध अवस्थामा रहेका छन्।