७ फागुन २०८२, काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक सार आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुनुपर्ने बताउँदै युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र स्थायी रूपमा शान्त रहन नसक्ने बताएकी छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको सफलता नागरिकको अनुहारमा देखिने आत्मविश्वास, सन्तोष र सुरक्षित जीवनमा झल्किनुपर्ने बताइन्। उनले भनिन्, “प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको अनुहारमा देखिने आनन्द र उनीहरूको निस्फिक्री जीवनमा महसुस हुनुपर्छ।”
प्रधानमन्त्री कार्कीले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै उनीहरूमा ऊर्जा, नैतिक चेतना र न्यायको चाहना रहेको बताइन्। उनले स्पष्ट शब्दमा भनिन्, “युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन। युवाले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैनन्। त्यसैले उनीहरूको असन्तोषलाई दबाउने होइन, सम्बोधन गर्ने दिशामा राज्य अघि बढ्नुपर्छ।”
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिइन्। उक्त निर्वाचनले देशलाई स्थायी लोकतान्त्रिक स्थायित्वतर्फ लैजाने र “नयाँ युगको ढोका खोल्ने” विश्वास व्यक्त गर्दै सरकारले सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाएको बताइन्।
नेपालको लोकतान्त्रिक इतिहास स्मरण गर्दै प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गते पहिलो प्रजातान्त्रिक निर्वाचन भएको उल्लेख गरिन्। उनले आगामी निर्वाचन पनि तोकिएकै मितिमा विश्वसनीय र सुरक्षित वातावरणमा सम्पन्न हुने सुनिश्चित भएको बताइन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिणाम दिन सक्ने प्रणाली हुनुपर्नेमा जोड दिइन्। नागरिकलाई प्रक्रियाको नाममा अल्झ्याउने, ढिलासुस्ती गर्ने र अनावश्यक हैरानी दिने कार्य लोकतान्त्रिक अभ्यास नभई बेथिति भएको उनको भनाइ थियो।
उनले वर्तमान सरकारले सुशासन, पारदर्शिता, सामाजिक न्याय र जवाफदेहितालाई प्राथमिकतामा राख्दै असामान्य अवस्थालाई सामान्य बनाउने, शान्ति सुव्यवस्था कायम गर्ने र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा काम गरिरहेको बताइन्।
निर्वाचनबाट गठन हुने संसद् र सरकारले लोकतन्त्रलाई अझ प्रभावकारी, जनउत्तरदायी र नतिजामुखी प्रणालीका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले समृद्धि, सुशासन र संस्कारयुक्त राजनीतिका लागि सबै राजनीतिक दल र नागरिकलाई एकजुट हुन आह्वान गरिन्।