८ कात्तिक, काठमाडौं । तिहार बिदाको अवसरसँगै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको असाधारण भीड बढेको छ। पर्व मनाउनेसँगै घुम्न निस्किएका पर्यटकका कारण मुस्ताङका प्रमुख पर्यटनस्थलहरूमा चहलपहल बढेको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले जोमसोम, मार्फा, कागबेनी र लोमान्थाङजस्ता स्थानहरूमा आन्तरिक पर्यटकको भीड अत्यधिक छ। होटलहरू पूर्ण रूपमा भरिएका छन्, र बासस्थान नपाएर केही पर्यटक म्याग्दी तिर फर्किन बाध्य भएका छन्।

प्रहरी नायव उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार, “बिदाको समयमा मुस्ताङ घुम्न आउने पर्यटकको संख्या अत्यधिक बढेको छ। केही दिनदेखि सडकमा सवारी चाप र भीड देखिएको छ,” उनले बताइन्।

बेनी–जोमसोम–कोरोला सडकखण्डमा समेत सवारीसाधनको लामो लाइन देखिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभीर र मुस्ताङको घरपझोङ गाउँपालिका–४ घ्हैकु भीर नजिक शुक्रबार सडकमा सवारी जाम भएको प्रहरीले जनाएको छ।

डीएसपी लामाले थपिन्, “सडकमा कुनै ठूलो समस्या छैन, तर पर्यटकको चापका कारण ट्राफिक जाम भएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *