५ फागुन २०८२, काठमाडौँ। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारी अनुसार सोमबार साँझ मतपत्र छपाइ कार्य सफलतापूर्वक पूरा गरेको जनाएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ कार्य ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएकामा ४० दिनमै सम्पन्न गरिएको हो। उनले अब सबै मतपत्र प्याकेजिङ सम्पन्न गरी १० दिनभित्र देशभरका जिल्लामा पुर्‍याउने तयारी भइरहेको जानकारी दिए।

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी विभिन्न स्थानमा पठाइसकिएको छ भने समानुपातिकतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम पनि जारी रहेको जनाइएको छ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको छ भने बाँकी प्रदेशमा पनि निर्धारित समयभित्र मतपत्र पुर्‍याउने गरी ढुवानी प्रक्रिया अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *