२९ कार्तिक, काठमाडौं । अनलाइन सुविधा सुरु भएपछि प्राविधिक समस्या देखिएपछि म्याद ५ मंसिरसम्म लम्ब्याउने निर्णय, नयाँ राजनीतिक दल दर्ताका ३६ निवेदन

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय पाँच दिन थप गरेको छ। प्रधानमन्त्री शुसिला कार्कीको आग्रहपछि आयोगले ३० कात्तिकसम्मको म्याद थपेर अब ५ मंसिरसम्म दर्ता खुला राख्ने निर्णय गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर लिएका सेवा ग्राहीका लागि बिहीबार बिहानदेखि घरमै बसेर अनलाइन प्रणालीमार्फत दर्ता गर्ने सुविधा सुरु गरेपछि आयोगको प्रणालीमा प्राविधिक समस्या देखिएको थियो। यसले सेवाग्राहीलाई सहज रूपमा दर्ता गर्न कठिन भएपछि समय थपिएको आयोगले जनाएको छ।

यसअघि ९ असोजदेखि ३० कात्तिकसम्म खुलेको दर्ता अवधिमा करिब ८५ हजार मतदाताले मात्र नाम दर्ता गराएका थिए। तर, पछिल्ला १५ दिनमै डेढ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। बिहीबार मात्रै ३७ हजार जनाले दर्ता गराएको आयोगले जनाएको छ। आयोगले २७ कात्तिकदेखि राष्ट्रिय परिचयपत्रको विवरण बायोमेट्रिक आधारमा दर्ता गर्न सुरु गरेको हो।

यसैबीच, चुनाव घोषणा भएको पृष्ठभूमिमा शुक्रबारसम्म ३६ नयाँ राजनीतिक दल दर्ताका निवेदन आयोगमा परेका छन्। आयोगले आवश्यक प्रक्रिया पूरा गरी दल दर्ताको काम जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *