२० असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगको सोमबार बसेको बैठकले उक्त कार्यतालिका पारित गरेको हो।
स्वीकृत कार्यतालिका अनुसार, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० गतेसम्म हुनेछ। आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। निर्वाचनमा सहभागी हुन इच्छुक सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र पुस १८ र १९ गते बन्दसूची पेश गर्नुपर्ने कार्यक्रम छ। यसैगरी, प्रत्यक्ष प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ।
निर्वाचन प्रचारप्रसार फागुन ३ देखि १८ गतेसम्म चल्नेछ भने त्यसपछि प्रचार निषेध अवधि सुरु हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन गरी मतगणना प्रारम्भ गरिनेछ।
आयोगले निर्वाचनमा राजनीतिक दल र सरोकारवालासँग समन्वय र सहकार्यका लागि स्वीकृत कार्यतालिका अनुसार समय समयमा परामर्श र छलफल गर्ने जनाएको छ।