२३ मंसिर, काठमाडौं । सुशासन र जेनजी आन्दोलनको जगमा बनेको सरकार धम्की र दबाबबाट नडराई कडा कारबाहीमा अघि बढ्ने प्रधानमन्त्रीको भनाइ
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले चुनावी तयारी मात्र नभई सुशासन कायम गर्ने उद्देश्यसहित तीव्र गतिमा काम गरिरहेको बताएकी छन्। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार जुनसुकै हदसम्मको कठोर कदम चाल्न तयार रहेको स्पष्ट पारिन्।
‘यो सरकार चुनावी मात्र होइन, सुशासनको मागसहित भएको जेनजी आन्दोलनको जगमा निर्माण भएको सरकार हो,’ उनले भनिन्, ‘जेनजीका मागअनुसारका उपलब्धि हासिल हुन केही समय लाग्न सक्छ, तर भ्रष्टाचारविरुद्ध सरकार एक इन्च पनि पछि हट्दैन।’
प्रधानमन्त्री कार्कीले राज्य संयन्त्र सक्रिय भइसकेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धका कदमहरूलाई रोक्न विभिन्न तत्वबाट प्रत्यक्ष–परोक्ष धम्की आए पनि सरकार नडराउने बताइन्। ‘धम्की र दबाब आए पनि हाम्रो प्रतिबद्धता डगमगाउँदैन,’ उनले स्पष्ट गरिन्।
उनले सम्बद्ध निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै निर्भीक रूपमा कार्य गर्न आग्रह गर्दै सुशासन र पारदर्शितामाथि सम्झौता नहुने पुनः दोहोर्याइन्।