२२ असोज, काठमाडौं । घुस लेनदेनको मुद्दामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस प्रकरणमा रामचन्द्र अधिकारी, यामकुमारी गुरुङ, तुल्सीराम बुढामगर, खमबहादुर पुन र घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङ पनि प्रतिवादी बनाइएका छन् ।

अख्तियारले मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीमाथि ५३ लाख, घरजग्गा व्यवसायी सुजनकुमार तामाङमाथि ७८ लाख, खमबहादुर पुनमाथि २५ लाख, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरमाथि ७८–७८ लाख बिगो कायम गरेको छ ।

गत असार २८ गते तत्कालीन मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो । उनले कास्कीस्थित मालपोत कार्यालयको प्रमुखको सरुवा र आफूअनुकूल व्यक्तिको व्यवस्थापन गरिदिने आश्वासनका साथ सो रकम लिएको आरोप छ ।

गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिए भने रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *