१५ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै बिना विकेट पूरा गर्यो। ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमै अलआउट भयो। कुशल भुर्तेलले सर्वाधिक ३९ रन, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन योगदान गरे।
सुरुवात राम्रो भएपनि पावरप्लेपछि नेपालले लय गुमायो र बाँकी ९० रन भित्र सबै विकेट गुमायो।
वेस्ट इन्डिजका रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए। जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र अकिल होसेनले एक-एक विकेट हात पारे।
नेपालले पहिलेका दुई खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारिसकेको छ। आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपमा हावी रह्यो।