२४ पुष २०८२, काठमाडौं — नेपाल प्रहरीले आगामी निर्वाचनलाई लक्षित गर्दै झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना खुलाएको छ। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो।
यसपटक कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिने नेपाल प्रहरीले जनाएको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनमा पनि आवेदन लिन र बुझाउन सकिने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको छ।
आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयहरू बाट फाराम लिई सोही स्थानमा बुझाउन सकिनेछ। निर्वाचन प्रहरी हुन आवेदन दिने उम्मेदवारको उमेर फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। वि.सं. २०२८/१०/०१ देखि २०६४/१०/०१ गतेसम्म जन्मिएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
योग्यताका हिसाबले साधारण लेखपढ गरेको, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, साथै कुनै आतंककारी वा विध्वंसात्मक संगठनसँग आबद्ध नरहेको हुनुपर्ने उल्लेख छ। शारीरिक मापदण्डअनुसार पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छाती ३१–३३ इन्च र तौल ५० किलो तथा महिलाको हकमा ४ फिट १० इन्च उचाइ र ४२ किलो तौल हुनुपर्नेछ।
निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिनेछ। यस अवधिमा प्रतिदिन ८६९ रुपैयाँ का दरले तलब उपलब्ध गराइनेछ, जसअनुसार ४० दिनको कुल तलब ३४ हजार ७७६ रुपैयाँ हुनेछ। साथै, ४० दिनको खाद्यान्न खर्च सरकारले उम्मेदवारको व्यक्तिगत बैंक खातामै उपलब्ध गराउने जनाएको छ।
त्यस्तै, खटिएको स्थानमा जान–आउनका लागि एकपटकको तयारी खर्चस्वरूप ८४६ रुपैयाँ उपलब्ध गराइनेछ। चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँ का दरले कुल १२०० रुपैयाँ खाजा खर्च समेत प्रदान गरिने प्रहरीले जानकारी दिएको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिरहेको बताइएको छ।