३ कार्तिक २०८२, काठमाडौं । आज देशभर धन, समृद्धि र सौभाग्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गरी तिहार पर्वको मुख्य दिन लक्ष्मी पूजा मनाइँदैछ। राति अबेरसम्म घर–घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी पूजा गर्ने परम्परा छ। यसदिन घरका सम्पूर्ण गरगहना, द्रव्य र सम्पत्ति देवी लक्ष्मीको चरणमा अर्पण गरिन्छ।
वैदिक सनातन संस्कारअनुसार केराका खाँबाहरूलाई अत्यन्त शुभ मानिन्छ, त्यसैले आजका दिन मुल द्वारमा केराका दुई खम्बा राख्ने चलन छ, जसले वर्षभरि घरमा खुशी र समृद्धि ल्याउँछ भन्ने विश्वास गरिएको छ।
साँझपख घर–आँगन र वरिपरि रङ्गीन रङ्गोली बनाई सजाउने परम्परा पनि छ। गोलो, चारकुने वा त्रिभुजाकार आकृतिमा बनाइने यी रङ्गोलीले घरलाई उज्यालो र आकर्षक बनाउँछन्।
त्यस्तै, आजको रात माता लक्ष्मी पृथ्वी लोकमा भ्रमण गर्न आउँछिन् भन्ने जनविश्वास रहिआएको छ। त्यसैले घरको तुलसी मोठ र आँगनको प्रवेशद्वारबाट लक्ष्मीका पाइलाका डोबहरू घरभित्र लगाइन्छ, जसले देवी लक्ष्मीलाई आमन्त्रण गर्ने प्रतीक मानिन्छ।
‘भैलिनी आयौ आँगन, गुन्यू चोलो मागन…’ भन्ने भैलो गीतको गुञ्जनसहित रातभर देशभर उज्यालो र उल्लासपूर्ण माहोल रहनेछ।
रङ्ग, बत्ती र भैलिनीका स्वरले सिङ्गो देश नै उज्यालो र आशावान् देखिन्छ। यी बत्तिहरू जस्तै सबैको जीवन पनि उज्यालो र सुखमय रहोस् भन्ने शुभकामनासहित आजको लक्ष्मी पूजाको दिन उल्लासपूर्वक मनाइँदैछ।