२८ असोज २०८२, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट आधिकारिक रूपमा बिदा लिएका छन् । दशकभन्दा बढी समय पार्टीको नेतृत्व सम्हालेका देउवाले आगामी १५औं महाधिवेशन सम्पन्न गर्न उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी दिँदै आफू पूर्ण रूपमा कार्यकारी भूमिकाबाट अलग भएको सन्देश दिएका हुन् ।
महाधिवेशनले अब देउवालाई पुनः उम्मेदवार बन्न नदिने भए पनि उनले स्वेच्छाले पनि उम्मेदवारी नदिने घोषणा गरेका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने, “अब म १५औं महाधिवेशनमा उम्मेदवार हुदैनँ, नेतृत्व हस्तान्तरणको समय आएको छ ।”
जेन–जी आन्दोलनले देशको राजनीतिमा हलचल ल्याएसँगै देउवा आफ्नो उत्तराधिकारी तय गर्न नपाउँदै पार्टी नेतृत्वबाट अलग हुन बाध्य भए । यदि त्यो आन्दोलन नभएको भए, एमाले–कांग्रेसबीचको सहमति अनुसार उनले २०८३ असारमा प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्ने तयारीमा थिए ।
आन्दोलनपछि देउवाले महाधिवेशन सम्पन्न गराएर ‘सम्मानजनक बिदाई’ चाहेका थिए । तर पार्टीभित्रबाटै तत्काल नेतृत्वबाट हट्न चर्को दबाब आयो । महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले देउवाको राजीनामा माग्दै सार्वजनिक रूपमा अभियान थाले, जसपछि विशेष महाधिवेशनका लागि ५२ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षरसमेत जुटाइयो ।
आखिर निरन्तर दबाबबीच देउवाले बागडोर खड्कालाई हस्तान्तरण गर्दै कार्यकारी जिम्मेवारीबाट अलग भएका छन् । यससँगै नेपाली कांग्रेसमा नयाँ नेतृत्वको बाटो खुलेको छ ।