२२ असोज, काठमाडौं । ओमानमा आजदेखि सुरु हुन लागेको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक (EAP) रिजनल फाइनलअन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्दैछ । खेल ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा नेपाली समयअनुसार बेलुका ८:४५ बजेबाट सुरु हुनेछ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेतबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भइसकेको छ, जसमा नेपालले दुई खेल जितेको छ भने कुवेतले एक खेलमा जित दर्ता गरेको छ । पछिल्लो पटक यी दुई टोली यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा आमनेसामने भएका थिए — जहाँ लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा कुवेतले नेपालमाथि जित निकालेको थियो ।

आजको खेलमा जित्ने टोलीको सुपर सिक्स चरणमा प्रवेश सुनिश्चित हुने भएकाले दुवै टोली दबाबमा रहनेछन् । नेपालका लागि कुवेत एक चुनौतीपूर्ण प्रतिद्वन्द्वी मानिएको छ, विशेषगरी अघिल्लो पराजयको बदला लिन खेलाडीहरू उत्साहित छन् ।

यस पटकको छनोट प्रतियोगितामा ९ टोली सहभागी छन् र शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपका लागि स्थान पाउने छन् । उल्लेखनीय कुरा के छ भने यो संस्करणमा एसिया क्षेत्रसँगै इस्ट एसिया–प्यासिफिक टोलीहरूलाई समेत समेटेर संयुक्त “एशिया एण्ड इएपी क्वालिफायर” को रूपमा प्रतियोगिता आयोजना गरिएको हो ।

नेपालको टोली:
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *