१७ असोज, महोत्तरी । महोत्तरीको खयरमारामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
ना६ख १४६४ नम्बरको बस घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा पैदल यात्री चुल्हाई चौधरी र सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्का रहेका छन् ।
गम्भीर घाइते निर्मला तमाङ, दिर्जमान गोले, अस्मिता गोलेसहित चार जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं रेफर गरिएको छ । बस चालक दुर्घटनापछि फरार छन् ।