२३ कात्तिक, काठमाडौं। जाडो मौसमसँगै वायु प्रदूषण बढ्ने जोखिम रोक्न काठमाडौं महानगरपालिकाको कडा चेतावनी
काठमाडौं महानगरपालिकाले महानगरभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहर खुला ठाउँमा बाल्न कडा प्रतिबन्ध लगाएको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले प्लास्टिक वा फोहर बाल्ने व्यक्तिलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ। चिसो मौसम सुरु भएसँगै शहरका विभिन्न स्थानमा फोहर, प्लास्टिक र अन्य वस्तु बाल्ने क्रम बढेको भन्दै यस्तो कदम उठाइएको हो।
विभागकी प्रमुख सरिता राईका अनुसार, जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर रोक्न यो निर्णय गरिएको हो। उनका अनुसार, जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्यधिक हुने हुँदा प्लास्टिक जलाउँदा त्यसले थप हानि पुर्याउने खतरा हुन्छ।
महानगरले वायु प्रदूषणबाट विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम–खोकीका बिरामी, मुटुका रोगी र दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरू बढी प्रभावित हुने जनाएको छ।

महानगरले चेतावनी जारी गर्दै भनेको छ — यदि कसैले यो प्रतिबन्धको अटेर गरी प्लास्टिकजन्य वस्तु वा फोहर बाल्ने कार्य गरेको पाइएमा, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ बमोजिम कारबाही गरिनेछ।
यस अन्तर्गत, सूचनाको उल्लङ्घन गरी फोहर वा प्लास्टिक बाल्ने कार्य दोहोर्याएमा प्रत्येक पटकका लागि १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।