१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन पुसमै सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले नेताहरू तयार भए आफू कुनै पनि पदको आकांक्षी नहुने स्पष्ट गर्दै महाधिवेशनलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिने प्रस्ताव राखेका हुन् । उनले भने, “नेताहरूले चाहने हो भने हामी पदका लागि प्रतिस्पर्धा नगरी पनि महाधिवेशनमा जान तयार छौं ।”

थापाले महाधिवेशनमा दुई महामन्त्री उम्मेदवार नहुने सर्त स्वीकार गर्न पनि तयार रहेको बताए । उनका अनुसार अहिलेको अवस्थाबाट पार्टीलाई अघि बढाउने एकमात्र उपाय नियमित वा विशेष महाधिवेशन नै हो ।

उनले थपे, “यदि पुसमा पनि महाधिवेशन गर्न सकिँदैन भने, त्यसपछि विशेष महाधिवेशन बाहेक अर्को विकल्प छैन । विधानले बाँधेको कारण हामीलाई महाधिवेशन गर्नैपर्छ ।”

थापाको भनाइ अनुसार, पार्टीको गति र विश्वास पुनःस्थापना गर्न समयमै महाधिवेशन आवश्यक छ । उनले नेताहरूबीच सहमति जुटाएर पार्टीलाई नयाँ दिशातर्फ लैजान आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *