२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको पुनर्स्थापनाको माग लिएर आन्दोलन अघि बढ्ने घोषणा गरेका छन्।

भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रको पुनर्बहालीका लागि संसद् पुनर्स्थापना अनिवार्य रहेको बताए। उनले भने, “समयमै कदम चाल्न सकेनौं भने पछि ढिलो भयो भनेर पछुतो मान्नुपर्ने हुन्छ। कतिपय भन्छन् फागुन २१ पछि पुनर्स्थापनाको कुरा गरौं, तर संसद् विघटन असंवैधानिक, गलत र गैरकानूनी छ। पर्खिनु परेको छैन।”

ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने विश्वास व्यक्त गर्दै भने, “हामी अगाडि बढ्ने बेला भएको छ। नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अघि बढ्नेछ।”

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बन्न अडान लिएको प्रसंग जोड्दै भने, “संविधान मिच्दै संसद् विघटन गरिएको छ। यस्तो अधिकार कसले दियो ? कहाँबाट प्राप्त गर्यो ?”

ओलीका अनुसार संविधान र संसद् कायम राखेर निकास खोज्ने विषयमा त्यतिबेला सबै पक्षबीच सहमति भएको भए पनि त्यसको उल्लंघन गर्दै संसद् विघटन गरिएको हो। “संविधान र संसद्भित्रबाटै निकास खोज्ने सहमति थियो, तर वार्ता गर्ने र संसद् भंग गर्ने दुवै काम असंवैधानिक ढंगले गरियो,” उनले आरोप लगाए।

ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेससहितका अन्य दलहरू पनि साथ रहने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *