छठ पर्वका अवसरमा सुनसरीको इनरुवास्थित कुरुवा खोलामा मङ्गलबार छठ ब्रतालुहरू उदाउँदो सूर्य उदाउँदो अर्घ दिँदै । तस्बिर : नवीन गड्तौला / रासस

नेपालभर आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सूर्यदेवको आराधना र श्रद्धा-भक्तिसहित मनाइने छठ पर्व सम्पन्न भएको छ।

बिहानै नदी किनार र पोखरी घाटहरूमा भेला भएका श्रद्धालुहरूले दूध, फूल र शुद्ध जल अर्पण गर्दै सूर्यदेवको पूजा-आराधना गरेका थिए। यसरी सूर्योदयका बेला गरिने अर्घ्यलाई भिन्सरघाट पूजा भनिन्छ। भक्तजनहरू लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने परम्परा अनुसरण गर्छन्।

धार्मिक मान्यताअनुसार पृथ्वीका जीवको संचालन र संरक्षण सूर्य र जलबाट हुने भएकाले सूर्यलाई शक्ति स्रोत र नदीलाई माता मानिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको उपासना गर्दा मनोकांक्षा पूरा हुने र इच्छित फल प्राप्त हुने विश्वास छ। शास्त्रमा यस पर्वलाई सूर्य षष्ठी पनि भनिएको छ।

यस अवसरमा विवाहित स्त्री-पुरुषहरूले आफ्ना जीवनसाथीको दीर्घायुका लागि तथा अविवाहित युवती-युवकहरूले सुयोग्य वर-वधु प्राप्तिको कामनाका साथ व्रत बस्ने गर्छन्। सन्तान प्राप्तिको आकांक्षाका साथ पनि धेरैले यो पर्व मनाउने गर्छन्। भक्तजनहरूको विश्वासअनुसार छठ व्रतले मनले चाहेको इच्छा पूरा गर्छ।

🌞 चारदिनसम्म मनाइने छठ पर्वको धार्मिक विधि

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइन्छ।

  • पहिलो दिन (चतुर्थी) स्नान गरी चोखो खानाले व्रतको प्रारम्भ हुन्छ।
  • यस दिनदेखि सप्तमीसम्म बर्तालुले माछा, मासु, लसुन, फापर, मुसुरो आदि परहेज गर्छन्।
  • अघिल्लो दिन (षष्ठी) अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ र
  • अन्तिम दिन (सप्तमी) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।

यस वर्ष शनिबारदेखि आरम्भ भएको छठ मंगलबार बिहान सम्पन्न भएको हो। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भक्तजनहरूले रातभर जाग्राम बसेर मंगलबार बिहान उदाउँदो सूर्यलाई पनि अर्घ्य दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *