काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पुनः विवादमा परेका छन्। उनले शनिबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत भारत, चीन, अमेरिका लगायतका छिमेकी मुलुक र प्रमुख नेपाली राजनीतिक दलहरूविरुद्ध आपत्तिजनक र अशोभनीय अभिव्यक्ति दिएका छन्।

फेसबुकमा गरिएको उक्त स्ट्याटसमा उनले अशोभनीय शब्द प्रयोग गर्दै विदेशी मुलुकहरू प्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए। त्यस्तै उनले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत लक्षित गर्दै अपशब्द प्रयोग गरेका थिए। स्ट्याटसको अन्त्यमा उनले लेखेका थिए — “तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ।”

उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको थियो। बढ्दो विवादका कारण उनले केही घण्टामै उक्त स्ट्याटस डिलिट गरेका छन्।

बालेनको अभिव्यक्तिपछि राजनीतिक वृत्त, कूटनीतिक समुदाय र सर्वसाधारणबीच तीव्र प्रतिक्रिया व्यक्त भएको छ। धेरैले उनलाई सार्वजनिक पदमा बसेर अशोभनीय भाषा प्रयोग गरेको भन्दै आक्रोश प्रकट गरेका छन्।

यसअघि पनि बालेन सामाजिक सञ्जालमा लेखिएका आफ्ना स्ट्याटसका कारण विवादमा आइरहेका छन्। सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्तिदेखि लिएर जेन जेड आन्दोलनमा उक्साउने पोस्ट सम्मका कारण उनी पटक–पटक विवादको केन्द्रमा परेका छन्।

बालेन शाह केवल महानगर प्रमुखका रूपमा मात्र होइन, सामाजिक सञ्जालमा प्रत्यक्ष र निर्भीक प्रतिक्रिया दिने नेताका रूपमा पनि चिनिन्छन्। उनका पोस्टहरू प्रायः छिट्टै भाइरल हुने गर्छन्, तर त्यसका कारण उनी बारम्बार आलोचनाको घेरामा पर्ने गरेका छन्।

Screenshot

Leave a Reply

Your email address will not be published. Required fields are marked *