२३ असोज, काठमाडौं । देशभर लगातारको वर्षाका कारण बाढी र पहिरोले विभिन्न राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार देशभरका नौ स्थानका सडक पूर्ण रूपमा बन्द रहेका छन् भने तीन स्थानका सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
प्रहरी मुख्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–१ एकुवा सडकखण्ड अवरुद्ध भएका छन् । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरूमा सडक पूर्ण रूपमा बन्द छन् । पाँचथरको तमोर करिडोर अन्तर्गत तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पनि पूर्ण रूपमा अवरुद्ध छ ।
बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्डमा समेत पहिरोका कारण यातायात ठप्प भएको छ । त्यस्तै, बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी खोला गाउँपालिका–११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा र बाँझोखेत क्षेत्रमा सडक पूर्ण रूपमा बन्द छन् भने सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक पनि अवरुद्ध भएको छ ।
कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलाको सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
यता, कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–१ चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । बागमती प्रदेशअन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएकाले सम्बन्धित स्थानहरूमा सवारी आवागमन प्रभावित भएको छ र सडक खुलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरूले प्रयास गरिरहेका छन् ।