२४ मंसिर, अष्ट्रेलिया। बुधवारदेखि लागू हुने नयाँ कानुनले फेसबुकदेखि टिकटकसम्म १० प्लेटफर्मलाई प्रतिबन्ध, उल्लङ्घनमा कम्पनीले तिर्नुपर्नेछ करिब ५० मिलियन डलरसम्म जरिवाना
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित सामाजिक सञ्जाल प्रतिबन्धलाई “बालबालिकाको वास्तविक बाल्यकाल सुरक्षित गर्ने ऐतिहासिक निर्णय” बताएका छन्। बुधवारदेखि लागू हुने यस वैश्विक पहिलो प्रकारको प्रतिवन्धलाई साथ दिएकोमा उनले मंगलवार सबै राज्य तथा क्षेत्रीय नेताहरूलाई पत्रमार्फत धन्यवाद व्यक्त गरे।
अल्बानीजका अनुसार अभिभावकलाई मानसिक राहत प्रदान गर्नु र बालबालिकालाई सामाजिक सञ्जालको दवाब, एल्गोरिदमिक प्रभाव, तथा अनन्त फिडहरूको असरबाट जोगाउनु सरकारको प्राथमिकता हो।
सरकारले हालसम्म फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट गरी १० प्रमुख सामाजिक सञ्जाललाई प्रतिबन्ध लागू गर्न निर्देश गरेको छ। आवश्यकता अनुसार सूची थप वा अद्यावधिक गर्न सकिने अधिकारीहरूले जनाएका छन्।
नयाँ कानुनअनुसार अभिभावक वा बालबालिकालाई दण्डित गरिने छैन। सम्पूर्ण जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीहरूमै रहनेछ। नियमको गम्भीर वा बारम्बार उल्लङ्घन गर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अष्ट्रेलियाली डलर (झण्डै ३ करोड २८ लाख अमेरिकी डलर) सम्मको जरिवाना तिर्नुपर्नेछ।
यद्यपि सरकारले सबै नाबालिग प्रयोगकर्तालाई पहिचान गर्न आवश्यक ‘उमेर आश्वासन प्रविधि’ पूरै कार्यान्वयन हुन केही समय लाग्ने स्वीकारिएको छ।